काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पदका लागि शनिवार दिउँसो निर्वाचन हुँदैछ । संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन्।
शनिवारको प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
उपसभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।
रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।
यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
Leave a Reply