कैलाली । कञ्चनपुरबाट अवैध लागूऔषध चरेससहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाँउपालिका वडा नम्बर ७ वस्ने ४० बर्षीय करन धामी रहेका छन् ।
उनलाई प्रदेश प्रहरी कार्यालय धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा कञ्चनपुरको भिमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेससहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआइजी अशोक सिंहले जानकारी दिए । पक्राउ परेका धामीलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको उनले बताए ।
त्यस्तै डीआइजी सिंहका अनुसार आजै क्षेत्रीय अनुसन्धान समुहले भजनी नगरपालिकाका विभिन्न वडाबाट चोरीका ३ थान मोटरसाइकल बरामद गरी थप अनुसन्धान भइरहेको छ । बिहिबार कमाण्ड सम्हालेका सिंहले मातहतका प्रहरीलाई इमानदारीताका साथ जनताको सेवामा लाग्न निर्देशन दिएका थिए ।
डीआइजी सिंहले आजै प्रदेशका नौ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीमा भेला गराई इमान्दारीका साथ दत्तचित्त भई कुनै आर्थिक प्रलोभनमा नपरी सेवामा खटिन निर्देशनसमेत दिएका छन् ।
Leave a Reply