काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले आफूलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट नरहेको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उर्जामन्त्री लिङ्देनले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताए ।
उनले भने, ‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरु यो एक्स्पोले अझै सहयोग गर्नेछ । कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन ।’
उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताए ।
उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए ।
उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए ।
Leave a Reply