काठमाडौं। एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीको गुल्मी दरबार गाउँपालिकामा तीन वटा गाउँ नै सिल गरिएको छ ।
गुल्मी दरबार गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि वडाध्यक्ष टोपबहादुर बस्नेतले शनिबार नै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् ।
ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको हो ।
उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो । त्यसको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
Leave a Reply