धनगढी। डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ ।
१८दिन देखी बेपत्ता भएका बोहराको शव प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर निकालेको हो । बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् ।
उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयको भनाइ पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले केही स्थानीय सँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको थियो । प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पद स्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले बताएको छ ।
बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दुबै आमालाई पक्राउ गरेको छ ।
Leave a Reply