काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन् । पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने सहमति भएको दुवै पक्षका नेताहरूले बताएका हुन् ।
एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन् । वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन् । एकदुई दिनभित्रै दोस्रो चरणको कुराकानी हुनेछ ।
पहिलो चरणमा वार्ता कसरी अगाडि बढाउने, वार्ताको कार्यविधि कस्तो बनाउने भन्ने विषयमा कुराकानी भएको जसपा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले बताए । ‘पार्टी एकीकरणअघि सहकार्य गर्ने सहमति भएको छ । एकीकरण प्रक्रिया सुरु गरेका छौं’, श्रेष्ठले भने, ‘अहिले हामी एकीकरणको प्रारम्भिक चरणमा छौं ।’
स्रोतका अनुसार अब बस्ने वार्ताटोलीको बैठकमा दुवै पक्षले आ–आफ्ना पार्टीका राजनीतिक घोषणापत्र, दस्तावेज, विधान, चुनावी घोषणापत्रलगायतका कागजात प्रस्तुत गर्ने सहमति भएको छ । वार्ताटोलीमा रहेका एक नेताका अनुसार मिल्न सक्ने विषय मिलाउँदै जाने र मिल्न नसक्ने विषय सूचीकृत गर्ने सहमति भएको छ ।
जसपा वार्ताटोलीका संयोजक श्रेष्ठले एकताको ढाँचा विषयमा अझै छलफल नभएको बताए । स्रोतका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले एमालेसँग भन्दा जसपासँगको एकीकरण प्रक्रियालाई महत्व दिएका छन् । अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको चाहनाअनुसार दुवै पार्टीले वार्ताटोली गठन गरेका हुन् । नागरिक दैनिकबाट
Leave a Reply