काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पार्नेलाई कारबाही गर्ने बताए बताएका छन् ।
शुक्रबार काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताए । उनले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छुु । जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला ।’
राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग पनि सम्झौता नगर्ने उनले बताए । देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको उनले बताए ।
त्यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । सडक कम भन्दा कम खन्न, सडक खन्दा र भत्काइएका सडक तत्काल मर्मसम्भार गर्नुपर्ने उनले बताए ।
Leave a Reply