काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही गएका छन् ।
सोमबार साँझ प्रचण्ड धुम्बाराही गएका हुन् । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवालाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास धुम्बाराही पुगेको बताइएको छ ।
सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सिंगो हाउस नै विश्वासको मतका पक्षमा उभिने बताएका थिए । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका थिए ।
तत्कालीन सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ ।
तर कांग्रेस प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने दोधारमा छ । स्रोतका अनुसार पार्टीमा सभापति शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत दिन बढीजसो सांसदहरुले दबाब दिएका छन् ।
Leave a Reply