काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनमत अनुसारको सरकार बनेको बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लामिछाने जनमतको कदर गर्दै सरकारमा गएको बताएका छन्। गृहमन्त्रीसमेत रहेका लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको बताए।
उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला। तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छौ यो हाम्रो लागि ठूलो कुरा हो।
हामी सँधै खरो प्रतिपक्षीको कुरा गर्थ्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ। यो स्वभाविक हो। तर हामीले जनमतलाई कदर गरेका हौँ।
जनताले हामीलाई दिएको यो आशाको मत हो। यो मतको सही सदूपयोग गर्न हामी सरकारमा गएका हौँ।’
लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताए। संसदमा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसदले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताए।
जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको उनको भनाइ छ । उनले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताए ।
Leave a Reply