काठमाडौं । फार वेस्टर्न युनाइटेडसँग ४१ रनले पराजित भएसँगै पोखरा एभेन्जर्स नेपाल टी – २० लिगको समूह चरणबाटै बाहिरिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले पाँच विकेटको क्षतिमा एक सय ८७ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८।१ओभरमा सबै विकेट गुमाएर एक सय ४६ रन मात्रै बनाउन सक्यो। पोखराका लागि उपुल थरङ्गाले २३ बलमा सर्वाधिक ३६ रन जोडे। यस्तै, प्रतिश जिसीले ३४ तथा सिद्धान्त लोहनीले २८ रनको योगदान गरे।
फार वेस्टका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिँदा शाहिदी र प्रकाश जैसीले दुई–दुई विकेट लिए। करण केसीले पनि पोखराका एक ब्याटरलाई पेभेलियन फर्काएका थिए।
पहिलो इनिङमा ५१ बलको सामना गरेका शाहिदीले ६ चौका र दुई छक्कासहित ६७ रनको इनिङ खेले। यस्तै, विनोदले ४७ बलमा ६ चौका र दुई छक्कासहित ५९ रन जोडेर आउट भए। अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
बलिङतर्फ पोखराले १५ ओभरमा सम्म विकेट लिन सकेन। कमजोर बलिङ गरेको पोखरका लागि अभिमन्यु मिथुनले दुई तथा प्रतिश जिसीले एक विकेट लिए।
हारसँगै नेपाल टी -२० लिगमा पोखराको यात्रा समाप्त भएको छ। फार वेस्ट यसअघि नै बाहिरिइसकेको थियो। लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सले पहिलो क्वालिफायर खेल्ने भएका छन्। यस्तै, काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स इलिमिनेटरमा भिड्ने छन्।
Leave a Reply