काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग बुधबार छलफल गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए।
उनले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाए।
गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत बताए ।
उनले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गरे । उनले उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउँदै सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिन व्यवसायीहरूलाई आग्रह गरे ।
उनले उद्योगी व्यवसायीहरूले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुने बताए । उनले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउन सक्ने भन्दै त्यसका लागि उद्योगी व्यवसायीहरूले दुर्गन्ध सहन तयार हुनुपर्ने बताए ।
गृहमन्त्री लामिछानेले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनु पर्ने कारण नभएको उल्लेख गर्दै कानुनीको परिधिभित्र रहेर काम गर्ने बताए ।
Leave a Reply