Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

    सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 558
    SHARES

    कैलाली । माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागी समेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ ।

    ५३ सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरूले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताएका छन् ।



    प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपा र स्वतन्त्र एक/एकजना रहेका छन् ।



    सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ । सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ । नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ ।

    कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेशसभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन् । चार सदस्य रहेको (एकीकृत समाजवादी)ले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन । समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् ।

    सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उमेदवारी दिएर विजयी भएका डा। तारा जोशीलाई आ–आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरू देखिन्छन् ।

    एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठक केन्द्रमा दलका शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेकोले त्यसको टुंगो लागेपछि प्रदेश सरकार गठनमा देखिएको अन्योल हट्ने बताउँछन् । “प्रदेशसभाको अहिले देखिएको अंकगणितले सरकार गठनमा केही अन्योल त छ नै,” उनले भने, “केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ ।”

    प्रदेशसभा सदस्य एवं कांग्रेसका नेता प्रकाश बम सरकार गठनका विषयमा नागरिक उन्मुक्ति र स्वतन्त्र सदस्यसँग आफ्नो पार्टीको छलफल भइरहेको बताउँछन् । उनले भने, “आजसम्म प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुभएको छैन । कसको नेतृत्वमा र कुन–कुन दलको सरकार गठन हुन्छ भन्ने कुरा नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको हातमा छ ।”

    प्रदेशसभामा ६ दलको प्रतिनिधित्व

    प्रदेशसभा संसदीय दलको नेतामा एमालेका राजेन्द्रसिंह रावल, माओवादीका खगराज भट्ट, एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी चयन भइसकेका छन् । कांग्रेसको संसदीय दलको नेता अझै चयन हुन सकेको छैन ।

    कांग्रेसका प्रदेशसभा सदस्य बमले भने, “संसदीय दलको नेता चयन गर्नमा पार्टीको प्रदेश समितिले चासो लिनुपर्ने हो, आजसम्म लिएको देखिँदैन ।”

    कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा प्रकाशबमबहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर साह र मेघराज खड्का देखिएको चर्चा छ । प्रदेशसभाका सबै ३२ निर्वाचन क्षेत्रमा पुरुष उमेदवार विजयी भएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका २१ सिटमध्ये तीन पुरुष र १८ महिला निर्वाचित भएका छन् ।

    निर्वाचित हुने प्रदेशसभामा खसआर्य समुदायका ४३, दलित समुदायबाट तीन, थारू समुदायका पाँच, आदिवासीरजनजाति समुदायबाट दुईजनाको प्रतिनिधित्व भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा दुईजनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी रानाथारू समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ ।

    प्रदेशसभा सदस्यको पद तथा गोपनीयतको शपथग्रहण भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् ।

    माघ २ गतेभित्र सभामुखको निर्वाचन

    आइतबार बसेको सर्वदलीय बैठकले आउँदो माघ २ गतेभित्रमा प्रदेशसभाका सभामुखको निर्वाचन गरिसक्ने सहमति गरेको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको निर्वाचन माघ २ गतेभित्र गरिसक्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार