वीरगञ्ज । प्रहरीले १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अपहरणमा परेको ३५ दिनपछि मृत अवस्थामा भेटिएका बालकको हत्या आरोपमा श्यामप्रसाद यादव र दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
मंसिर ५ गतेदेखि हराएका निरजको शव ३४ दिनपछि गाउँकै गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा पुस १० गते आइतबार साँझ भेटिएको थियो । उनी सोही स्कुलमा कक्षा ८ कक्षामा पढ्दै थिए।
बालकको हत्यामा उनी पढ्दै आएको विद्यालयका भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । प्रहरीले गणित शिक्षकसमेत रहेका उक्त स्कुलका भाइस प्रिन्सिपल पटेलसहित दुई जनालाई पक्राउ गरेको छ।
पर्साको धोबिनी गाउँपालिका-१ स्थायी घर भएका पटेल सोही विद्यालयको पुरानो भवनमा रहेको केही कोठा लिएर श्रीमतीसहित बस्दै आएका थिए। घटनाको भोलिपल्ट आफन्तले प्रहरीमा निवेदन दिएका थिए।
त्यसको १२ दिनपछि आफन्तलाई ५० लाख रुपैयाँ फिरौती मागिएको अनुसन्धानमा खुलेको छ। प्रहरीले पुस १० गते पटेल बस्दै आएको भवनको अगाडि पट्टी रहेको सेफ्टी ट्याङ्कीबाट बालकको शव फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गर्दै घटनामा थप एक जनाको संलग्नता देखिएको जनाएको छ । उनको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply