काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञहरूको टोली आज काठमाडौं आइपुगेको छ ।
चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । सो टोलीलाई चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ् जिनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालस्थित चिनियाँ
राजदूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्ने नेपाली जनताको लामो समयदेखिको सपना र दुई देशका शीर्ष नेताहरूबीच भएको महत्वपूर्ण सहमति हो । नेपाल र चीनबीच बिआरआई निर्माणको यो अभिन्न अंग पनि हो । चीनले नेपालको आकांक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै चीनको अनुदानमा सम्भाव्यता अध्ययनलाई सक्रियतापूर्वक अगाडि बढाउने छ ।’
यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदनमा तयार गर्नेछ ।
चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने हो । चीनले महामारीको कारण देखाउँदै नेपालसँग भएको सम्झौताअनुसार अध्ययन हुन नसकेकाले काम सुरु भएको ४२ महिना समय लाग्ने जानकारी माघ २०७८ भएको भौतिक पूर्वाधार मन्त्रालयस्तरको सचिवस्तरीय भर्चुअल वार्तामा गराएको थियो ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ् यीको पछिल्लो नेपाल भ्रमणका वेला दुई देशबीच चिनियाँ अनुदानमा तिब्बतको केरुङदेखि काठमाडौं जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।
Leave a Reply