काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
विभागले श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।
काठमाडौंको नागार्जुन–४ निवासी श्रेष्ठले छलपूर्वक एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने गरेको देखिएको छ ।
श्रेष्ठले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको पाइएको थियो । उनले कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट श्रेष्ठ अध्यक्ष रहेको फाइनान्सले ८८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण दुरुपयोग गरेको खुलेको थियो ।
उनलाई त्यसकै आधारमा उनीमाथि सवा दुई अर्बको बैंकिङ कसुरको मुद्दा लागेको थियो ।
घोटाला काण्डपछि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो । तर, २०७ १को असार १२ गते सर्बोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो ।
Leave a Reply