काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सहभागी भएकोप्रति केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन्। कार्कीले सोमवार असहमति पत्र जारी गर्दै माओबादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाए हुन् ।
रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ ।
उनले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ, समाचारहरुबाट थाहा पाएँ। चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरु, हाम्रा वाचापत्र सम्झना भयो।’
सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर आमनागरिकहरुको निराश मनस्थितिमा आफूहरु अलग रहेको भनेर मत मागेका उनले सम्झना गरे। उनले वाचापत्रमा फाइल खोल्ने भनेर लेखिएका मुद्दाहरु अब के हुन्छ भनेर प्रश्न समेत गरे।
‘ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन्?
हामीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो? त्यसमा संलग्न भनेर विवादित रहेका व्यक्तिहरुकै सहभागितामा यी काण्डहरुको निष्पक्ष छानविन हुन सम्भव होला?’ उनले प्रश्न गरे।
पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् ।
Leave a Reply