काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि चुनावतर्फ जाने सम्भावना देखिएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रममा नेता ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ साँझ सात दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन् । त्यो समय सीमा कट्न २४ घण्टा मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन् ।
सोही अवधिमा अध्यक्ष ओलीको यस्तो टिप्पणी आएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूलाई लक्षित गर्दै उनले सरकार गठनमा देखिएको अन्योलताले अब फेरि घुमिफिरि मध्यावधि चुनावतर्फ जाने अवस्था देखिएको बताए ।
यस क्रममा उनले एमाले बाहेकका दलहरूको कुनै गन्तव्य नरहेको आरोप लगाए । ‘एमाले बाहेकका दलहरूको कुनै गन्तव्य छैन । उनीहरूको गन्तव्य सरकारमा जाने र मन्त्री खाने मात्रै रहेको छ । नेकपा एमाले मात्रै स्पष्ट गन्तव्य भएको दल हो । हाम्रो दलगत स्वार्थ छैन । हाम्रो राष्ट्रिय स्वार्थ छ,’ ओलीले भने ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी गर्न दिएको सात दिनको समयसीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन ।
Leave a Reply