काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा आफ्नो विचार र एजेण्डालाई सचेततापूर्वक राख्न आफ्ना पार्टीका सांसदलाई सुझाव दिएका छन् ।
अहिले संसदमा संघीयता विरोधी शक्ति पनि आएको बताउँदै उनले सचेततापूर्वक आफ्नो विचार र एजेन्डा राख्न सांसदहरुलाई सुझाव दिएका हुन् ।
आफ्नो पार्टीबाट निर्वाचित नयाँ सांसदलाई स्वागत तथा सम्मान गर्दै अध्यक्ष यादवले अहिलेको संसद चुनौतीपूर्ण रहेको समेत बताए ।
उनले भने, ‘ अहिलेको संसदमा जुन खालका शक्तिहरू त्यहाँ छिरेका छन् उनीहरूबाट लोकतन्त्र र संघीयतालाई बचाउन पार्टीले भूमिका खेल्नुपर्छ ।’
पार्टीको तर्फबाट आफ्नो नीति र विचार सचेत ढंगले उठाउन सांसदहरुलाई सुझाव दिँदै उनले मधेशी, आदिवासी, जनजातिको मागलाई उठाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले संसद र संसदीय समितिहरुमा आफ्नो उपस्थिति बढाएर आफ्ना कुराहरू राख्न सांसदहरुलाई भनेका छन् ।
सरकारमा सहभागी हुने नहुने विषयमा कुनै पनि दलसँग औपचारिक रुपमा कुराकानी नभएको बताउँदै उनले अनिवार्यता र आवश्यकताको आधारमा सरकारमा पार्टीको सहभागिता हुने बताए । उनले अहिले कुन गठबन्धनको सरकार बन्छ अझै निश्चित भइनसकेको बताउँदै जसपा सरकारमा जानका लागि नहतारिने बताए ।
Leave a Reply