Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड

    बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलको आइतबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। रियल म्याड्रिडले आफ्नो पछिल्लो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी इबरलाई ३–१ गोलले हरायो। जितसँगै रियल म्याड्रिडले ‘लिग लिडर’ बार्सिलोनासँगको दूरी दुई अंकमा झारेको छ।

    प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा रियल म्याड्रिडले खेलेको यो दुई सयौं खेल हो। जिदान रियल म्याड्रिडका पूर्वखेलाडीसमेत हुन्। ४७ वर्षीय जिदान पहिलो पटक सन् २०१६ देखि सन् २०१८ सम्म रियल म्याड्रिडको सिनियर टोलीको प्रशिक्षक बनेका थिए।



    त्यसपछि केही विषयमा असहमति जनाउँदै क्लब छाडेका जिदान सन् २०१९ मा पुनः रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए। फ्रान्सेली नागरिक जिदानले प्रशिक्षकका रूपमा हालसम्म रियल म्याड्रिडलाई विभिन्न १० वटा उपाधि जिताइसकेका छन्।



    रियल म्याड्रिडले खेलको पहिलो हाफमै तीन गोल गरेको थियो। खेल सुरु भएको चौथो मिनेटमै टोनी क्रुजले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ३०औं मिनेटमा अनुभवी खेलाडी सर्जियो रामोसले टोलीको अग्रता दोब्बर बनाएका थिए। त्यसको सात मिनेटपछि नै मार्सेलोले टोलीका लागि तेस्रो गोल थपेका थिए।

    इबरका लागि भने एकमात्र गोल खेलको ६०औं मिनेटमा पेड्रो बिगासले फर्काएका थिए। स्पेनिस ला लिगामा सहभागी २० वटै टोलीले २८/२८ खेल खेलिसक्दा ६१ अंकसहित साविक विजेता बार्सिलोना तालिकाको पहिलो स्थानमा छ। रियल म्याड्रिड ५९ अंकसहित दोस्रो स्थानमा छ।

    तेस्रो स्थानमा आसीन सेभिलले ५०, चौथो स्थानको रियल सोसिएडाडको ४७ र पाँचौं स्थानमा आसीन गेटाफेको ४६ अंक छ। एट्लेटिको म्याड्रिड भने ४६ अंकसहित छैटौं स्थानमा छ। रियल म्याड्रिडसँग पराजित इबर २७ अंकसहित १६औं स्थानमा छ।

    रियल म्याड्रिडको घरेलु मैदान बेर्नाबेउ रंगशालामा हाल पुनर्निमार्णको काम भइरहेको छ। त्यसैले रंगशालाको काम पूरा नभएसम्म रियल म्याड्रिडले एस्टाडियो अल्फ्रेडो डी स्टेफानो रंगशालालाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ। ६ हजार दर्शक क्षमताको उक्त रंगशालालाई यसअघि रियल म्याड्रिडले अभ्यासका लागि प्रयोग गर्दै आएको थियो। रियल म्याड्रिडको ‘बी’ टोलीले पनि सोही रंगशाला प्रयोग गर्छ।

    विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण करिब तीन महिना स्थगित भएर स्पेनिस ला लिगा पुनः सुचारु भएयता रियल म्याड्रिडले खेलेको यो पहिलो खेल हो। रियल म्याड्रिडले आफ्ना अनुभवी खेलाडी गारेथ बेललाई दोस्रो हाफमा परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गराएको थियो। अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार