काठमाडौं । पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा सत्ता गठबन्धनमा रस्साकस्सी सुरु भएको छ ।
शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका छन्।
नेता सिंहले प्रचण्ड सहजै प्रधानमन्त्री पदबाट पछि नहट्ने आफूले पाएको प्रधानमन्त्रीलाई ब्रिफीङ गरेका थिए। प्रधानमन्त्री देउवाले यसबारे सत्तागठबन्धनभित्र घनीभूत छलफल गरिने बताएको बालुवाटार स्रोतले जनाएको छ।
प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ।
प्रचण्ड जसरी पनि आफू प्रधानमन्त्री बन्ने दाउमा छन्। त्यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवासँग समानान्तर पहल गरिरहेका छन्।
देउवा विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् ।
बिहीबार बेलुकी प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा सत्तासमीकरणबारे छलफल भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्म समयसीमा दिएकी छन्।
Leave a Reply