Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा सचेत रहन नेपाल टेलिकमको आग्रह

    अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा सचेत रहन नेपाल टेलिकमको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।

    सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो ।



    टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गरी राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।



    मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बंैकिङलगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ ।

    ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएमा आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ ।

    नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवं सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्ने जनाइएको छ ।

    स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ ।

    सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरुपमा भरेकोरनभरेको जाँचपश्चात् ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुनेछ ।

    ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ सोको प्रतिलिपि रीतपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ ।

    सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्तिआ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

    ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने व्यवस्था गरिएको छ ।

    वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार