Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । गत सोमबार रातिको धनुर्मास पूजापछि मंगलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न गएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ।

    प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ। धनुर्मामास पूजापछि मंगलबार दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको नियम छ। यो पूजापछि भगवान् शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जाने भएकाले मन्दिर बन्द गरिने गरेको विश्वास छ।



    धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ। पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, शृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ। धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डंगोलले जानकारी दिए।



    पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँड्कुलामा खिचडी बनाउँछन्। एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ। अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ। धनुर्मास पूजामा गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त–अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहेका कर्मचारी बरुण खतिवडाले जानकारी दिए।

    पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन्। प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ।

    चन्द्रमास र सौरमास दुवैअनुसार पुस महिना पारेर धनुर्मास पूजाको साइत निकालिन्छ। पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ। त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे। यो परम्परा पनि अहिले लोप भइसकेको छ। धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो।

    बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ। पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ।

    पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार