चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो ।
एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्न लागिएको हो । मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत भारी सवारीसाधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।
काठमाडौँतर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।
Leave a Reply