काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन्।
आइतबार महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्युनिकरणका उपाय विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी हुन्।
उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन्।
हिंसाको जरो घरभित्रै रहेकाले घरबाट नै हिंसा अन्त्यको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । उनले महिला हिंसा घर, समाज, कार्यालय, राजनीतिक दललगायत हर स्थानमा महिला हिंसा रहेकाले यो समस्या महिला वा राज्यले मात्रै समाधान गर्न नसक्ने धारणा राखिन् ।
मन्त्री रेग्मीले हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन पनि अनिवार्य भएको बताइन् ।
Leave a Reply