Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रदेश १ मा एक सिट पाएको जसपा सरकार निर्माणमा निर्णायक

    प्रदेश १ मा एक सिट पाएको जसपा सरकार निर्माणमा निर्णायक

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 636
    SHARES

    काठमाडौं । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै अब दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुटेका बेला प्रदेश १ मा भने रोचक समीकरण बनेको छ ।

    प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।



    ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।



    प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ । एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् ।

    बहुमतका लागि यो गठबन्धनलाई एक सिट रहेको जसपाको समर्थन अनिवार्य हुन्छ । अर्कोतिर सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सिट प्राप्त गरेको छ । सोही गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी जम्मा १३ सिट पाएको छ ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सिट पाएको छ । यी तीन दल मिलेर सत्तारुढ गठबन्धनसँग जम्मा ४६ सांसद मात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई पनि एक सिट रहेको जसपा निर्णायक हुने देखिन्छ ।

    निर्वाचनमा जसपा नेपाल र नेकपा एमालेबीच केही स्थानमा गठबन्धन भएको थियो । यस आधारमा जसपाले एमाले नेतृत्वको गठबन्धनलाई नै सघाउने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

    तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि चुनावसँगै एमालेसँगको गठबन्धनको औचित्य सकिएको अभिव्यक्ति दिएका थिए । त्यसैले पनि प्रदेश १ को सत्ता समीकरण थप रोचक बन्ने देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार