धनगढी । जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ।
प्रहरीले हवाई फायर गरेपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्।
बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।
घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।
Leave a Reply