काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ता भएको छ । दुई पक्षबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बिहीबार वार्ता भएको हो ।
यता विप्लव नेतृत्वको नकेपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले नेतृत्व गरेका थिए । गृह मन्त्रालयका अनुसार वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको छ ।
नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफ्ट्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।
प्रवक्ता विश्वकर्माले आफ्नो पार्टीसँग भएको सम्झौता कार्यान्वयको विषयमा जिज्ञासा राखेका थिए। जवाफमा गृहमन्त्री खाणले सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
भेटवार्तामा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंहसमेत सहभागी थिए ।
Leave a Reply