अछाम । अछाम क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट निर्वाचित प्रदेशसभा सदस्य मेघराज खड्का र सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलबीच भेटवार्ता भएको छ ।
कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्रीसमेत रहेका खड्का मंगलबार मन्त्री रावललाई भेट्न मन्त्रालयमा पुगेका हुन् । निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै प्रदेशसभा सदस्य खड्का जनताका समस्या लिएर मन्त्री कहाँ पुगेका हुन् ।
भेटमा अछामका भूकम्प पीडितहरुको विषयमा छलफल भएको प्रदेशसभा सदस्य खड्काले बताए । गत कार्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ गएको भूकम्पले अछाममा पनि कयौं घरहरु चर्किएका छन् ।
कतिपय विजयी भएका उम्मेदवार बधाई थाप्नमै व्यस्त रहेका बेला प्रदेशसभा सदस्य खड्का भने शपथ नखाँदै जनसरोकारका काममा सक्रिय भइसकेका छन् । साथै प्रदेशसभा सदस्यमा निर्वाचित खड्कालाई मन्त्री रावलले बधाई तथा शुभकामना दिएका थिए ।
Leave a Reply