Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विप्लवले भने – झापा विद्रोहदेखि जनयुद्धसम्मका कम्युनिष्ट एकजुट हौं

    विप्लवले भने – झापा विद्रोहदेखि जनयुद्धसम्मका कम्युनिष्ट एकजुट हौं

    नेपालका कम्युनिष्टहरुलाई समाप्त पार्ने खेल भैरहेको छ

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 972
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय निर्वाचनलाई नाटक मञ्चनको संज्ञा दिएका छन् ।

    निर्वाचन बहिष्कार गरेका विप्लवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले कम्युनिष्ट नामकै आत्मसर्मपणकारी तत्वहरुलाई प्रयोग गरेर देशलाई ओरालो यात्रामा लगेको बताए ।



    उनले भनेका छन्, ‘दलाल पूँजीवादी सत्ताले संसदीय चुनावको नाटक मञ्चन गरेको छ। जनयुद्धको सफलतालाई षड्यन्त्रपूर्वक रोकिएको छ ।



    कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न बिसर्जित गर्ने र देशमाथि अमेरिकी र भारतीय साम्राज्यवादको नवउपनिवेश खडा गर्ने, नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल चलेको छ ।’

    उनले क्रान्तिकारी कम्युनिष्टलाई घेराबन्दी गरेको आरोप लगाए । वैज्ञानिक समाजवाद चाहने नागरिकलाई निराश बनाउने खेल भइरहेको उनको भनाइ छ ।

    कम्युनिष्टहरुलाई संसदीय व्यवस्थाको पुच्छरमा घिसारेर कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने प्रयास भएको उनको तर्क छ । जुनसुकै रुप र रंगका दलाल पूँजीवादी तत्वहरु आए पनि नेपालीका लागि कुनै अर्थ नभएको विप्लवले बताए ।

    उनले भनेका छन्, ‘चाहे नयाँ अनुहारमा हुन् या चाहे पुरानै अनुहारका हुन् । जुनसुकै अनुहारले सरकार चलाए पनि मुलुक समृद्ध बन्ने अवस्था छैन ।

    जुनसुकै तत्वले सरकार चलाए पनि नेपाली श्रमिकको लागि कुनै अर्थ हुँदैन । आखिर विष विष नै हुन्छ । विषले कहिल्यै पनि अमृतको काम गर्न सक्दैन ।’

    यही संसदीय व्यवस्था ठीक भन्नु नेपाललाई विश्व साम्राज्यवादी शक्तिहरुको खेलमैदान बनाउने प्रयासमात्रै भएको उनले टिप्पणी गरे ।

    उनले भने, ‘हामी कम्युनिष्टहरु एक हुन जरुरी छ । झापा विद्रोहदेखि जनयुद्धबाट यहाँसम्म आइपुग्न क्रान्ति र परिवर्तनको पक्षमा लडेका सबै कम्युनिष्ट समर्थकहरु एक हुनुपर्छ ।’

    उनले सबै क्रान्तिकारी शक्तिहरुलाई नेपाललाई वैज्ञानिक समाजवादमा लैजान पहल गर्न आह्वान गरे । नेपाललाई दलाल पूँजीवादबाट मुक्त गराउनेतर्फ लाग्न पनि विप्लवले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार