काठमाडौं । बाजुरामा स्थगन भएको मतदान भोलि (शनिवार) लाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान भइरहेको समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि भएको अर्को घटनामा घाइते भएका स्थानीय चेतन ऐडीको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मतदान कार्य स्थगित भएको थियो ।
त्यस्तै, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ ।
दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
Leave a Reply