गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रान्ति र शान्तिका नायक भएको बताएका छन् ।
सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले प्रचण्ड क्रान्ति र शान्ति दुवै प्रक्रियाको नेतृत्वकर्ता र बिरलै पाइने नेता रहेको बताए । उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा भएको विस्तृत शान्ति सम्झौताको आफूले मस्यौदा गरेको बताए ।
उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको संयुक्त प्रयासबाट अहिलेको परिवर्तन आएको बताए ।
नेता पौडेलले नेपाली कांग्रेसका मतदातालाई हिजो विगतमा के भयो भनेर साध्य नचल्ने भन्दै पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरे ।
उनले संविधान र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनाइएको बताउँदै यो एकता पछिसम्म निरन्तर अघि बढ्ने बताए।
उनले पटक–पटक संसद भंग गर्ने एमाले किन संसदमा जाने भन्दै गठबन्धनका उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न आग्रह गरे ।
Leave a Reply