हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्। मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कूल १६५ सिटमध्ये सत्तारुढ गढबन्धनको नेतृत्व गर्दै कांग्रेस एक्लैले ९१ सिटका लागि उम्मेदवारी दिएको बताए ।
उनले आगामी सरकारको नेतृत्व पनि स्वभाविक रुपमा कांग्रेसले नै गर्ने बताए। सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा औपचारिक निर्णय वा सहमति भने भइनसकेको उनको भनाइ छ।
गठबन्धनको अगुवा दल भएको कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्ने प्रष्ट भएको महतले बताए।
महतले भने, ‘प्रचण्डजीले पनि दावी गर्नुभएको छैन। उहाँको समर्थक, शुभेच्छुकहरुले तपाईं प्रधानमन्त्री हो भनेर भन्दिएका होलान्।
हामीले झन भन्ने कुरै भएन। जसले नेतृत्व गर्दैछ, उसले हामी नेतृत्व गर्छौँ भनेर भनिरहनै पर्दैन ।’
महतले संविधानको रक्षा, व्यवस्था जोगाउँदै जनताको अवस्था परिवर्तन, मुलुकमा स्थिरता र समृद्धि ल्याउन गठबन्धन निर्माण भएको बताए।
Leave a Reply