काठमाडौं । २०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन । स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो ।
त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रतिनिधिसभाले पाँच वर्षको कार्यकाल पूरा गर्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५५ साल माघ १ मा प्रतिनिधिसभा निर्वाचनको घोषणा गर्यो ।
माओवादीको बढ्दो हिंसात्मक आन्दोलनका बीचमा २०५६ जेठ २० र जेठ ३ गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको निर्णयअनुसार निर्वाचन सम्पन्न भयो । दुई ठाउँमा एउटै उम्मेदवारले चुनाव जितेका कारण त्यही साल मङ्सिर २३ मा उपनिर्वाचन भएको थियो ।
त्यसमध्ये झापाको क्षेत्र नम्बर ६, मोरङ क्षेत्र नम्बर १ र रौतहटको क्षेत्र नम्बर ४ मा उपनिर्वाचन भएको थियो। चुनावपछि जितेर आउनेहरू युवा पुस्ता बढी थिए । चुनाव जितेर आउने धेरै सांसद ३० देखि ५० वर्ष उमेर समूहका थिए ।
एक सयवटा राजनीतिक दलले चुनावमा भाग लिन दर्ता गराएका थिए । दर्ता गरेका दलमध्ये भन्डै एकचौथाइ दलले मात्रै चुनावमा भाग लिएका थिए । नागरिक दैनिकबाट
Leave a Reply