काठमाडौं । सप्तरीको छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या प्रकरणमा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । सशस्त्रका प्रहरी उपरीक्षक खड्कालाई हेडक्वार्टर तानेर अनुसन्धान गरिएको थियो ।
एसपी खड्काको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याएको छ । सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस भएको हो ।
घटनाका वेला एसपी खड्का राजविराजस्थित सशस्त्र प्रहरीको गणपति थिए । उनको कमान्ड कमजोरीले घटना भएको भन्दै छानबिन समितिले विभागीय कारबाही सिफारिस गरेको हो ।
सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवै जनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धान निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् ।
असोज २० गते बिहीबार दिउँसो २ बजे सीमावर्ती बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा असई यादव नग्न अवस्थामा मृत भेटिएका थिए ।
Leave a Reply