काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उमेदवार राजु गुरुङको उमेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ ।
उमेदवारी खारेजीविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन अधिकृतको यो निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्वोच्चले यसअघि उनको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
उम्मेदवारी खारेजसँगै सत्तारुढ गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको उम्मेदवारविहीन बनेको छ ।
Leave a Reply