काठमाडौं । उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।
शुक्रबार पेसी चढे पनि रिट निवेदकबाट स्थगित गराइएको रिट आइतबार न्यायाधीश श्रेष्ठको इजलासमा परेको हो ।
सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । निर्वाचन अधिकृतको कार्यालयले गरेको उम्मेदवारी खारेजको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी उम्मेदवारी कायम राख्न माग गर्दै उनी अदालत पुगेका थिए ।
गुरुङको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासको दोस्रो नम्बरमै परेको छ । गुरुङले निर्वाचन आयोग सहित निर्वाचन अधिकृतको कार्यालयलाई समेत विपक्षी बनाई रिट निवेदन दर्ता गरेका थिए ।
Leave a Reply