Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एनआईसी बैंकका संचालक नै विदेशी मुद्रा अपचलनमा ,यस्तो छ ठगी धन्दाको फेहरिस्त

    एनआईसी बैंकका संचालक नै विदेशी मुद्रा अपचलनमा ,यस्तो छ ठगी धन्दाको फेहरिस्त

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 8.2K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी बृत्त दरबारमार्गले सोमबार राति जुवा खेल्दाखेल्दै पक्राउ गरेका एनआईसी एशिया बैंकका संचालक समेत रहेका रामचन्द्र संघाईले एक व्यक्तिलाई घर न घाटको अवस्थामा पुर्याएको खुलेको छ।

    सिद्धार्थ ग्यास उद्योग प्रालिका सञ्चालक समितिका अध्यक्ष पनि रहेका रामचन्द्र संघाईले कम्पनीलाई एकलौटी सञ्चालन गरेर आफ्नो करोडौ रकम डुबाएको भन्दै पीडित रमेशकुमार अग्रवाल बिगत ८ बर्ष देखी न्याय माग्न राज्यका बिभिन्न निकायहरुमा धाए पनि न्याय पाउन नसेकेको गुनासो गर्छन्।



    सिद्धार्थमा ५० प्रतिशत सेयर रहेका संघाईसँग आफुले हिसाबकिताव माग्दा  उल्टै प्रहरी र प्रशासनको आडमा ज्यानै मार्ने सम्मको धम्की दिने गरेको अग्रवालको आरोप छ । कम्पनीको २५ प्रतिशत सेयर रहेका अग्रवालले हरहिसाब देखाउन माग गर्दा ८ बर्षदेखी धम्की दिँदै आएको गुनासो गरेका हुन् । अग्रवालले श्रीमती रानी र छोरीको नाममा शेयर खरिद गरेको वताए ।



    संघाईले गुण्डा लगाएर आफुलाई कार्यालय नै प्रवेश गर्न नदिएको अग्रवालले आरोप वताए।

    शेयर माग्न जाँदा कहिले आईजीपीको धाक दिने त कहिले ‘हाम्रो एनआईशी बैंक, नेपाल लाईफ इन्सुरेन्स र सिद्धार्थ ग्यासले राज्यका सबै निकायलाई खरिद गरेका छौ, तैले के गर्न सक्छस गर’ भन्दै रामचन्द्र र उनका दाजु भाईहरुले धम्क्याउने गरेको उनले पिडा पोखे ।

    आफ्नो परिवारको २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममा भएको उद्योग २०६९ सालबाट संघाई समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाब माग्दा यत्तिकै हडप्न खोजी धम्काएको अग्रवालको भनाइ छ । सुभाषकुमार खेतानले भने उनै संघाईलाई शेयर बेचिसकेको अग्रवाल वताउँछन्।

    आफुले शुरुमा १० करोड रकम इन्भेस्टमेन्ट बैंकमा जम्मा गरेको र अहिले आफ्नो शेयर मुल्य नै अर्ब पुगिसकेको दाबी गर्दै अग्रवालले भने–‘मैले मेरो भागमा भएको हिसाबकिताब चाहियो भनेर अनुनय–बिनय गर्दा उल्टै कम्पनीको नाममा थप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङग भएको छु ।’ अग्रवालले शेयर किन्नका लागि रकम जम्मा गरेको सबै प्रमाण सुरक्षित रहेको थप वताए।

    अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसो समेत पोखेका छन् ।

    उनले भने–‘आफ्नो शेयरको हिसाबकिताब खोजाई पाउँ भनेर बाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपी ग्यास उद्योग एशोशिएसन,राजश्व अनुसन्धान बिभाग,सिआईबीलगायतका निकायसमक्ष धाएँ तर कतैबाट न्याय पाईन् । अहिले म सर्बोच्च अदालतमा अन्तिम न्याय माग्न गएको छु। अब न्याय नपाए मेरो अन्तिम बिकल्प भनेको आत्महत्या गर्नु नै हो।’

    रामचन्द संघाईद्वारा विदेशी मुद्रा अपचलन 

    त्रिवेणी ग्रुपका पुरुषोत्तमलाल संघाई, सुवासचन्द संघाई, विरेन्द्रलाल संघाई र रामचन्द्र संघाईको लगानी सिद्धार्थ ग्यास उद्योग प्रालिमा रहेको छ । सिद्धार्थ ग्यास उद्योग प्रालिका अध्यक्ष हुन, रामचन्द्र  संघाई।

    रामचन्द संघाईले ८ बर्षदेखी  नै सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको पाइएको छ ।
    संघाईले ५० प्रतिशत लगानीकर्तालाई बाइपास गरेर सिद्धार्थ ग्यास उद्योग कब्जा गरि बुलेट ढुवानीमा बढि भाडा तिरेर वर्षौंदेखि करोडौं राजश्व चुहावट गर्दै आइरहेका छन् ।

    स्रोतका अनुसार संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर एकातिर अग्रवाललाई कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी दिएका छैनन् भने अर्कोतिर ठूलो मात्रामा राजश्व छली गर्दै आएका छन् ।

    त्रिवेणी समूह अन्तर्गतको संघाई ग्रुपले चलाएको उक्त ग्यास उद्योगमाथि ग्यास ढुवानीमा अनियमितता गरेको, कम्पनीको हिसाबमा नयाँ सिलिण्डर खरिदमा खर्च देखाएको तर मापदण्ड नाघिसकेको र ग्यास फिलीङ्ग गर्न नमिल्ने पुराना सिलिण्डरलाई टालटुल गरी रंगरोगन लगाई ग्यास भर्ने गरेकोे, हाईड्रोलिक यन्त्र विना नै उद्योग चलाई रहेको, यासको सिलीण्डरमा रहेको लेदो फोहर नहटाई पुनः रिफीलीङ्ग गर्ने गरी ग्यासको तौलमा ठगी गरेको आरोप लागेको छ ।

    त्यसैगरी ग्यास सिलीण्डरको तौलमा एक रुपता कायम नगरेको लगायतका उपभोक्ताको हित प्रतिकुलका बिभिन्न अनियमितता कार्यहरु गर्दै आइरको छ ।

    सिद्धार्थ ग्यासले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दीमा भन्ने ठाउँबाट भारतीय बुलेट ट्याङ्करका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ । यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०११२ / १०/०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पु-याउने सम्झौता भयो ।

    संघाईले उक्त सम्झौता विपरित भारु दुई हजार अठ सयको ठाउँमा भारु तीन हजार छ सय प्रति टन दर ड्राफ्ट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु पाँच हजार सात सय १५ को सट्टामा छ हजार छ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढि भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेको प्रमाण समेत भेटिएको छ ।

    सोही विषयमा छानविन गरी कारबाही गर्न रमेश अग्रवाल स्वयमले माग गरेका थिए । तर, अहिलेसम्म संघाईमाथि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् । जसका कारण उनलाई विदेशी मुद्रा अपचलन गर्न र राजश्व छली गर्न सहज भइरहेको छ ।

    सिद्धार्थ ग्यास उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको देखिन्छ ।

    हालसम्म ८ बर्षमा करिव १५ करोड भन्दा बढि राजश्व छली र अपचलन भएको प्रमाणित भइसक्दा पनि रामचन्द्र संघाईलाई राजश्वले कुनै पनि कारबाही गर्न नसकेको अग्रवाल नै दाबी गर्छन।

    जुन हिसाबकिताब आफुसँग सुरक्षित रहेको उनी उल्लेख गर्छन्। यस बारेमा संघाई समुहका सदस्यहरुसँग पटक पटक प्रतिक्रिया लिने प्रयास गर्दा उनीहरु सम्पर्कमै आउन चाहेनन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार