Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लेखा समितिबाट शाहलाई हटाउन कांग्रेसमा दबाब

    लेखा समितिबाट शाहलाई हटाउन कांग्रेसमा दबाब

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र कम्युनिस्ट सरकार ‘पशुपतिको साँढे’ जस्तै भयो भनेर आलोचना भइरहेको छ । यस्तो अवस्थामा संसदको सार्वजनिक लेखा समिति सक्रिय हुनुपर्ने थियो ।

    तर, लेखा समिति सुतेर बसेको छ । समितिका सभापति भरतबहादुर शाहले कांग्रेसलाई फाइदा हुने गरेर कुनै पनि निर्णय वा छलफल चलाउन सकेका छैनन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लेखा समिति पाएको छ । लेखा समितिमा कांग्रेसले आफ्ना सांसद शाहलाई सभापति बनाएको छ । सभापति शाहले कम्युनिस्ट सरकारका गलत कुराहरूमा छलफल चलाएर जनता सामक्ष सार्वजनिक गर्नुपर्नेमा सिन्को पनि भाँच्न सकेका छैनन् ।



    हालै सार्वजनिक भएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सभापति शाहले प्रभावकारी रुपमा छलफल चलाउन सकेनन् । शाहले एनसेल प्रकरणदेखि वाइडबडी काण्डमा समेत कुनै ठोस निर्णय गर्न सकेनन् । सभापति शाहमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँग मिलेर कमिशनको चक्कर चलाउन मात्रै गरेको आरोप छ ।



    यसको उदाहरण सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा देखिएको छ । सभापति शाहले दोषीलाई कारबाही गर्न दवाव दिनुको साटो लेखा समितिका सदस्यहरूलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै अडियो टेप सार्वजनिक गर्नेलाई कारबाही गर्न भन्दै प्रहरीलाई पत्र लेखेका छन् ।

    हिम्मत गरेर ७० करोडको मन्त्रीको कमिशनको काण्डको पर्दाफास गर्ने व्यक्तिलाई संरक्षण गर्नुको साटो सभापति शाहले कसका लागि काम गरिरहेका छन् भनेर प्रश्न उब्जिएको छ । अडियो टेप सार्वजनिक भएको अर्को दिन लेखा समितिको बैठक राखेर सभापति शाहले अडियो टेप सार्वजनिक गर्ने व्यक्तिलाई कारबाहीको माग राखेर प्रहरीलाई पत्र पठाए ।

    यो कुरा थाहा पाएपछि नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले आपत्ति जनाए । खाँणले शाहलाई केही नभनेर समितिका सदस्य डा.मीनेन्द्र रिजाललाई फोन गरी लेखा समितिले के निर्णय गरेको हो भनेर प्रश्न गरेका थिए । लेखा समितिका सभापति शाहको हर्कतबाट कांग्रेसका प्रमुख सचेतक खाँण खुसी छैनन् । सभापति शाह र खाँणवीच बोलचालको अवस्था नै छैन ।

    सभापति शाहले कम्युनिस्ट सरकारलाई फाइदा हुने गरेर काम गर्न थालेको विषयमा कांग्रेस संसदीय दलको बैठकमा समेत कुरा उठेको थियो । केही सांसदहरूले शाहलाई सभापतिबाट हटाएर डा.मीनेन्द्र रिजाललाई सभापति बनाउन माग गर्न थालेका छन् ।

    पछिल्लो समय सभापति शाह कमिशनको चक्करमा लागेर राम्रा विषयहरूलाई समेत गायब बनाउन थालेको आरोप छ । सभापति शाहले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भनेर कांग्रेसभित्रै आवाज उठिरहेको छ । उनको यो हर्कतको उजुरी सभापति शेरबहादुर देउवासम्म पुगेको छ ।

    सभापति देउवा पनि शाहको कार्यबाट सन्तुष्ट छैनन् । अहिले आएर सभापति शाहलाई हटाउने पक्षमा देउवा छैनन् । शाहलाई सभापतिबाट हटाउँदा गलत सन्देश जाने भनेर देउवा चुप लागेर बसेका हुन् । तर, अधिकांश सांसदहरूले शाहलाई हटाएर उपयुक्त सांसदलाई सभापति बनाउन देउवालाई दवाव दिँदै आएका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार