काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराउन लागिएको हो ।
सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फिर्ता गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको माओवादीले जनाएको छ । पटेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।
साहले रौतहट ३ सहित एमाले र जसपाबीचको तालमेलमा जसपाले प्राप्त गरेका सिटमा स्वतन्त्र उम्मेदवार उठाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि साह एमाले अध्यक्ष केपी ओलीको पक्षमा खुलेका थिए ।
Leave a Reply