वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक प्रदर्शन रोक्न सेना खटाउने चेतावनी दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्यापछि अमेरिकामा व्यापक प्रदर्शन भएका छन्।
सीएनएनका अनुसार कम्तीमा ७५ सहरमा लगाइएको कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनकारी सडकमा उत्रेका छन् ।
प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको जनाइएको छ । दर्जनौं राज्यहरूमा प्रहरी कार्यालय तथा गाडीहरू तोडफोड गरिएको छ भने पसलहरूमा लुटपाट भएको छ ।
फ्लोयडको मृत्युका कारण अमेरिकामा मात्रै नभई विश्वका अन्य देशमा समेत विरोध प्रदर्शन भएका छन् । बेलयातको लन्डन, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, ग्रीसको एथेन्स तथा नेदरल्यान्डको आम्सटर्डमलगायतका स्थानमा पनि फ्लोयडको हत्याको विरोधमा प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।
ट्रम्पले देशभर भएका हिंसात्मक प्रदर्शनहरू दबाउन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । खराब र अशान्त अवस्थामा पनि गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको ट्रम्पको भनाइ छ । उनले गर्भनरहरूलाई नेसनल गार्ड परिचालन गर्नसमेत आग्रह गरेका छन् । एजेन्सी
Leave a Reply