काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन। दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो ।
सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ। कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।
Leave a Reply