Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गृह मन्त्रालय र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

    गृह मन्त्रालय र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 951
    SHARES

    काठमाडौं । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा मन्त्रालयमा आज बिहान भएको वार्तामा पाँचबुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक समेत रहेका सहसचिव डा. भीष्मकुमार भुसाल तथा संघर्ष समितिका तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।



    मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।



    यस्तै, ऋणीले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहु वा निजले इछ्याएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रूपले हुन आउने साँवाब्याज पूरै चुक्ता गर्दा र गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तर्निकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।

    संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय गरी मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।

    समितिका सदस्यले आफूहरूका माग पूरा गर्न सरकारले सहमति गरेकाले सबै आन्दोलनमा रहेकालाई जानकारी गराएर आन्दोलनका कार्यक्रम फिर्ता गर्ने बताएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार