Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • मिथिलाञ्चलमा जितिया पर्वको रौनक

    मिथिलाञ्चलमा जितिया पर्वको रौनक

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 633
    SHARES

    धनुषा । पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।

    व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा, खाय’ अर्थात् नुहाएर खानु भनिन्छ ।



    भोलि शनिबार बिहान ४ बजेदेखि पानीसमेत नखाई उपवास बसेका बर्तालु महिलाले पर्सि आइतबार बिहान १० बजे व्रत सम्पन्न गर्ने छन् ।



    बर्तालुले आज जनकपुरधामको पवित्र जलाशय गङ्गासागर, अरगजसर, धनुष सागर, गोरधोइ पोखरीलगायत पोखरी र नदीमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।

    व्रत बस्नु अघिल्लो दिन आज बर्तालुुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीतादेवी झाका अनुसार व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा माछ मरुवा (माछा र कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओठगन सम्पन्न गर्नुपर्छअर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।

    धेरैजसो महिलाले ओठगनमा च्युरा, दही खाने गर्दछन् । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यस व्रतको विशेष महत्व रहेको पण्डित लालबाबु झा बताउँछन् । पण्डित झाले सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको छुट्टै धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको बताए । उनले पितृ पक्षमा मनाइने यस पर्वमा महिलाले पनि आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउने गरेकाले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गरेको बताए।

    पुरोहित इन्द्रकान्त झाले मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई निकै पवित्र व्रतका रुपमा मानिने गरिएको बताउँछन् ।

    राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार