काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।
शुक्रबार बिहान समाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले बालेनसँग यस्तो माग गरेका हुन् ।
पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै भट्टराईले स्वरोजगार श्रमिकको बाध्यता बुझ्न बालेनलाई आग्रह गरे ।
‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले सञ्जालमा लेखेका छन् ।
Leave a Reply