काठमाडौ । इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौं महानगरपालिकाले विदाइ गरेको छ ।
जात्राको अवलोकन, बसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पदयात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उनीहरुको विदाइ गरिएको महानगरले जानकारी दिएको छ ।
राष्ट्रिय सभागृहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ सहितको उपस्थितिमा पाहुनाको विदाइ गरिएको महानगरले जनाएको छ ।
विदाइ कार्यक्रममा बोल्दै मेयर बालेन्द्र (बालेन) साहले काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । मेयर बालेनले यस वर्ष महानगरले भगिनीसम्बन्ध भएका सहरबाट आमन्त्रण गरेका पाहुनामार्फत यहाँको परिवेश प्रवर्धन गरेको भन्दै पर्वकै कारण अन्तरनगर सम्बन्ध गाढा भएको, आपसी सहयोग र सहकार्य थप मजबुत भएको बताएका थिए ।
महानगरका अनुसार स्वदेशी तथा विदेशी पाहुनाहरुले इन्द्रजात्राको धार्मिक एवं सांस्कृतिक महत्वका बारेमा उच्च प्रशंसा गरेका थिए ।
भदौ २२ गते बुधबार विहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान गरिएको थियो । भदौ २४ गते सुरु भएको कुमारी रथ यात्राअन्तर्गत त्यसदिन तल्लो टोलमा घुमाइयो । त्यस्तै २५ गते माथिल्लो टोलमा रथ घुमाइयो ।
भदौ २९ गते नानिचा यात्रा रहेको छ । यसै दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षको जात्रा सकिनेछ ।
Leave a Reply