एजेन्सी । राजा चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । लन्डनस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि, राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गएको बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानानुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन् ।
शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवंगत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे ।
एक्सेसन काउन्सिलमा गरेको पहिलो सम्बोधनमा भावुक सुनिएका नयाँ राजाले ‘आफ्नी प्रिय आमाको सेवामा समर्पित जीवनबारे’ बोलेका थिए र उनको पदचाप पछ्याउने वाचा गरेका थिए। ‘सम्पूर्ण विश्वले हामी सबैले बेहोरेको अपूरणीय क्षतिमा मसँग सहानुभूति व्यक्त गरिरहेको छ।’
‘मेरी आमाको शासनकाल आफ्नो सेवा अवधि, समर्पण र निष्ठाका हिसाबले अतुलनीय रहेको थियो। हामी सबै शोकमा हुँदा पनि हामी यो सबैभन्दा ईमान्दार जीवनका लागि धन्यवाद दिन चाहन्छौँ।’ राजाले आफ्नो नयाँ जिम्मेवारीका बारेमा पनि चर्चा गरेका थिए।
Leave a Reply