काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार एक वज्ञिप्ति जारी गर्दै उम्मेदवार मनोनयन दर्ता, सूची प्रकाशन, दाबीविरोधमा उजुरी दिने लगायत तालिका सार्वजनिक गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३३० निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।
आयोगका अनुसार, संवत् २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने रहेको छ ।
यसैगरी, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।
यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुनेछन् र कार्यक्रमसम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानूनमा रहेको छ ।
Leave a Reply