काठमाडौं । विराटनगर,झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यसपछि मेचीनगर नगरपालिका-७ का २१ वर्षीय रोहित मण्डल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगरसहित तीनै जनालाई पक्राउ गरिएको छ प्रहरीले जनाएको छ।
यसैगरी, दमक नगरपालिका-२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दमक-२ का ४१ वर्षीय भीमबहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको
प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ वर्षीय ज्ञानदीप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।
Leave a Reply