काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुनः पठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पुनः पठाइएको हो ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नागरिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका हुन् ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै संसद्मा फिर्ता गरेकी थिइन् । राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त विधेयक १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्मा नै फिर्ता गरेकी थिइन् ।
पहिलो पटक पुनर्विचार गर्न राष्ट्रपतिले नागरिकता विधेयकलाई संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा फिर्ता पठाए पनि अब पुनर्विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ।
संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
Leave a Reply