Online Nepal
  • शनिबार, २० पुष २०८१
  • ललिता निवास प्रकरण : मुख्य अभियुक्त शोभाकान्तलाई थुनामै राख्न विशेष अदालतको आदेश

    ललिता निवास प्रकरण : मुख्य अभियुक्त शोभाकान्तलाई थुनामै राख्न विशेष अदालतको आदेश

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । विशेष अदालतले ललिता निवासको जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल थुनामै राख्न आदेश दिएको छ । ढकालले आफू ज्येष्ठ नागरिक भएको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा ७८ बमोजिम थुनामुक्त हुनुपर्ने माग गरेका थिए।

    दफा ७८ मा अभियोग प्रमाणित भएमा हुनसक्ने अधिकतम कैदको सजायको अवधिभन्दा बढी अवधिसम्म थुनामा नराखिने उल्लेख गरिएको विषयलाई आधार बनाउँदै ढकालले रिट दायर गरेका थिए। तर, ढकालले दिएको निवेदनको सुनुवाइ गर्दै विशेष अदालतले आइतबार थुनामै राख्न आदेश दिएको हो ।



    विशेष अदालतका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले ढकाल कैद बसेको दुई वर्ष पनि नभएको भन्दै थुनामै राख्न आदेश दिएको हो।



    विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका ढकाललाई २०७७ माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश थियो। न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

    मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेका ढकाल उक्त प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार भएका थिए। म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत हाजिर भएका उनलाई विशेषले थुनामा पठाउने आदेश जारी भएको थियो। ढकाल र रामकुमार सुवेदीले संयुक्त रुपमा उक्त जग्गा व्यक्तिको बनाउने कार्यमा मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेको छ।

    ढकालले आफू, श्रीमती र छोराछोरीको नाममा समेत बालुवाटारको जग्गा राखेको पाइएको थियो। उनले उक्त जग्गा राखेर आईएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋणसमेत लिएका थिए। त्यस्तै सोही स्थानको सन्दीप ढकालका नामको जग्गा राखेर यति विकास बैंकबाट ४९ लाख रुपैयाँ ऋण लिइएको पाइएको थियो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमासँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार बिगो मागदाबी गरिएको थियो ।

    आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार